By Nirvik Jung Rayamajhee
‘गएँ है !’ भन्न नपाई छुट्टिनुपर्यो त्यो दिन
बिदाइको हात हल्लाउन पनि पाइनँ
न पाएँ एकफेर
शुभ–यात्राको कामना गर्न तिमीलाई
न दिनै पाएँ
स्मृतिको चिनोस्वरूप
वर्षौंदेखि साँचिराखेको बुट्टे रुमाल
यसै छुट्यो...
अङ्गालो हाल्ने मनको रहर
आँशु पुछिदिँदै निधार चुम्ने रहर
उदासलाग्दो त्यो गोधुलीमा
विरही सुनियो गोलसिमल पनि एकबार !
आज स्मृतिको घाउ बल्झिँदा
एकोहोरो सोचिरहेछु–
किन भेटेछु तिमीलाई त्यो दिन
कि आँखा दोबाटोमै टिकाएर
छुट्टिनुपर्यो त्यो दिन ।